- म त झसंग भए, जीउ चिसो भयो। दिमाग सुन्य भएझैं भयो। मलाई त अपहरण गरिएको पो रहेछ भन्ने बुझेर भित्रभित्रै काम छुट्यो।
मेरो जन्म तत्कालिन प्यूठान जिल्लाको बाईसखुवाथुम र पछि २०१९ सालपछि रोल्पा जिल्ला अन्तर्गत गजुलकोटको दलंगामा भएको हो। मेरो पिताजी तत्कालिन अवस्थामा प्युठानको पछि रोल्पा जिल्लाको सबभन्दा माथिल्लो तहको समाज सुधारक, समाज सेवी र राजनैतिक व्यक्ति हुनुहुन्थ्यो । पिताजीकै प्रभावले गर्दा म र हाम्रो पारिवारिक पृष्ठभूमि चाहिं प्रजातान्त्रिक नै हो। मेरो पिताजी २०१५ सालमा प्युठानबाट नेपाली कांग्रेसको सांसद हुनुभएको थियो।
पञ्चायती व्यवस्थामा पिताजीलाई एउता परिस्थिति पश्चात पञ्चायतमा लाग्नुपरेता पनि पञ्चायतीमा काम गर्नु परेता पनि उहाँलाई सधैंभरी दरबारबाट, अञ्चलाधिशबाट र सिडिओ कार्यालयबाट निगरानी भैरहन्थ्यो। उहाँलाई सकेसम्म अवशरहरूबाट वंचित गर्ने काम गरिएको थियो । किनकि पिताजी प्रजातान्त्रिक विचार राख्नु हुन्थ्यो ।
हाम्रो पिताजीले स्थापना गर्नुभएको रोल्पा जिल्लाकै पहिलो हाईस्कुल, बाल कल्याण विद्यालय जुन जिल्ला सदरमुकाममा छ, मैले त्यहि पढे र पछि पिताजीले नै स्थापना गर्नुभएको रोल्पा (गजुल) को विद्यालयमा मैले पढाए। पछि हामीले त्यसलाई एडभान्स गरेर १०+२ बनायौं ।
पञ्चायती व्यवस्था गएर देशमा बहुदल आएपछि पिताजीको पृष्ठभूमिका कारण हामी नेपाली काङ्ग्रेसलाई समर्थन गर्ने भयौं। पछि म नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष भएर काम गरिरहेको थिए। २०२७ सालपछि म रोल्पा जिल्लामा रेडक्रस सोसाईटिको संस्थापक पनि हुँ र त्यो समयमा म उक्त सोसाईटिको जिल्ला सचिव भएर काम गरिरहेको थिए।
रोल्पा जिल्लाका माओवादी नेताहरूमा कृष्ण बहादुर महरा, नन्द किशोर पुन, कुल बहादुर केसी, बर्षमान पुन, विप्लव आदि मैले लिवाङमा पढाएका बिद्यार्थी हुन। तर भएर के गर्ने ?
देशमा २०५२ सालदेखि कहालीलाग्दो द्वन्द शुरुवाट भयो। मलाई के लाग्छ भने त्यो दश वर्ष नेपालको इतिहासमा 'न भूतो न भविष्यती' जस्तो भयो। यसले नेपालको लोकतान्त्रिक अभ्यास मात्रै होइन विकास र प्रगतिलाई पनि हानी गर्र्यो।
जनताले अत्यन्त दुख कष्ट झेल्नु पर्र्यो । विशेष गरेर दुरदराजका क्षेत्रका जनताले जुन किसिमको दु:ख कष्ट र दर्दनाक पिडा भोग्नु पर्र्यो, त्यो शहरी ईलाका बस्नेहरूलाई थाहै छैन। त्यस्तै दु:ख यातना पाउनेमा म पनि एक पात्र हुन्। मैले अनाहकमा १०० दिन माओवादीको कब्जामा रहनु पर्र्यो। ति १०० दिन मेरा लागि जिवनमा कहिल्यै भुल्न नसकिने दर्दनाक घटनाको रुपमा रह्यो ।
त्यतिबेला माओवादीहरूको नियत के रहेछ भने जो मान्छे अलि प्रभावशाली छ, जसको पक्षमा धेरै जनताहरू छन् र उनीहरूको (माओवादीको) पक्षमा जान मान्दैनन उनीहरूलाई 'टार्गेट' गर्ने रहेछन। उनीहरूले घोषित रुपमै प्रजातान्त्रिक विचार राख्नेहरूलाई शत्रु ठान्थे। त्यसरी प्रजातान्त्रिक विचार राख्ने र आफ्नो विचार प्रति सहमत नहुनेलाई कसरी कमजोर बनाउने भन्ने योजना हुँदो रहेछ।
म त्यसैको शिकार भए। हाम्रो रोल्पा जिल्ला उनीहरूको आधार किल्ला जस्तो, उनीहरूको ज्यादा दबदबा भएको जिल्ला थियो। हाम्रो पिताजीको पृष्ठभूमिका कारणले तथा मेरो आफ्नै शैक्षिक तथा सामाजिक क्षेत्रमा गरेको सेवा र योगदानको कारणले जिल्लामा उनीहरूले हाम्रो प्रभाव कम गर्न सके उनीहरूलाई अनुकुल हुने बुझाई रहेछ। उनीहरूको खास धारणा चाहिं त्यो हो।
मलाई अपहरण गरेर लान्छन भन्ने शंका थिएन, किन भने हामीले कुनै गलत गरेका थिएनौं। बाध्यताले गर्दा हामीले नियमित लेवी 'चन्दा' दिएकै थियौं। म प्रध्यानाध्यापक भएकोले नियमित जिल्ला सदरमुकाम आऊ जाउ भैरहने भएकोले उनीहरूका बारेमा मैले कहिल्यै चियो चर्चो वा सुराकी गर्ने, कुरा लगाउने यस्ता विषयहरूलाई लिएर पुलिस प्रशासनमा पुर्र्याउने जस्ता घृणित कार्य कहिल्यै गरेका थिएनौं। तर उनीहरूले यस्तै विषयमा शंका गरे। उनीहरू बिरुद्ध गतिबिधि गरेको आरोप लगाए। हामी शिक्षकहरू सरकारी कर्मचारी भएकोले प्रशासनको आदेश मान्ने पर्र्यो, उता माओवादीको डर र धम्कि पनि छदै थियो। हामी विचमा रहेर आफ्नो ज्यान जोगाउन निक्कै कठिन थियो। तर म गलत काम तिर कहिल्यै लागिन। सत्य तथ्यमै अडिरहे।
त्यसै क्रममा विस २०५९ साल वैशाख २९ गते साझँ मलाई घरबाट माओवादीहरूले लिएर गए। साँझको बेलामा परिवारसँग घरमा बसिरहेको थिए। हतियार सहितका तिन जना माओवादीहरू आए। मलाई एकैछिन हाम्रो जिम्मेदार कमरेडले खोज्नुभएको छ भनेर लगियो। त्यसमा हाम्रो प्रतिकार र अनुरोध उनीहरूले स्विकार्ने कुरै थिएन। उनीहरूको एकछिन एक डेढ घण्टाको लागि छलफल गर्ने भनेर लैजाने र अपहरण गर्ने रणनिति रहेछ। भोलि उज्यालोमा जाउँला, अहिले साझँ परिसक्यो भन्दा पनि मानेनन्। मेरो श्रीमतीले यति बेला जानु पर्दैन, बरु मलाई पनि लैजानुहोस् भनेर अनुरोध गरिन। तर उनीहरूले तपाईले नमाने हामीले बल प्रयोग गर्न नपरोस भन्ने खालको धम्कि दिएपछि म हिडन बाध्य भए । पातलो टिसर्ट, लुंगी र पुरानो रबरको चप्पल लगाएर म हिडन विवश भए ।
मान्छे हिडिरहने बाटो नहिडाएर घुमाउरो र मान्छेहरू कम हिडने बाटो लागे। मलाई घरमा लिन आउनेमा एक जना कमान्डर सहित ३ जना थिए, जो मेरा लागि विल्कुल अपरिचित थिए। तर बाटोमा हिड्दै गर्दा केहि चिनेका र मैले पढाएका बिधार्थीहरू पनि जोडिन आईपुगे। त्यस दिन राति कमसेकम ५-७ घण्टा हिडाए। बाटोमा कुनै गाउँको छेउ खोल्सामा पुगेपछि कताबाट हो खाना ल्याएर खुवाए र फेरी हिडाए। निक्कै बेर हिडेपछि जंगलको विचमा पुगेपछि लौ सर अब यति राति गाउँमा जान खतरा हुन्छ यतै बसौं भने। मैले के भन्न सक्थे र ! घना जंगलमा खुला आकाशमुनि रात काटियो।
गोडा झमझमाएर दुखिरहेको थियो। मन व्यतित भैरहेको थियो । निन्द्रा लाग्ने कुरै थिएन। त्यो रात किन, के कारणले यसरी हिडाईरहेका होलान भन्ने चिन्ता लागिरह्यो।
भोलि पल्ट बिहान केहि समयसम्म हिडाएपछि एउटा घरमा पुर्र्याए । केहि समय पछि २ जना माओवादीहरू मलाई राखिएको घरमा आए। एक जना हाम्रै गाउँको तारा भन्ने थिए । उनि मेरो पुर्व विद्यार्थी पनि हुन्।
कति बेला आईपुग्नुभयो ? उनले सोधे
भर्खरै दुई घण्टाजति भयो होला। मैले भने
हाम्रा साथिहरूले बाटोमा कुनै दु:ख त दिएनन होला ?
अहँ। बाटो भने विकट नै रहेछ। म राति आँखा कम देख्ने मानिस, होशियारीपूर्वक नै ल्याए। मैले भने
त्यो त उनीहरूको जिम्मेदारी नै हो नि। अँ तपाईलाई उनीहरूले कहिले कब्जामा ल्याए ? कहाँ भेट्टाए ? उनले भने
'कब्जा' शब्दले मेरो ध्यान खिच्यो।
अनि बढो गम्भिरतापूर्वक उनले उद्घोष गरे, "तपाई अब हाम्रो नेपाल कम्युनिष्ट पार्टि (माओवादी) को बन्दी हुनुहुन्छ। अर्थात, कैदी हुनुहुन्छ। तपाईले अब आफुलाई हेडमास्टरको रूपमा अथवा अरु के के पदमा हुनुहुन्छ, त्यस रूपमा नसोच्नुहोला। तपाई अब सिर्फ नारायण सुवेदी । बुझ्नुभयो?"
म त झसंग भए, जीउ चिसो भयो। दिमाग सुन्य भएझैं भयो। मलाई त अपहरण गरिएको पो रहेछ भन्ने बुझेर भित्रभित्रै काम छुट्यो।
"मैले के गरेको छु र तपाईहरूको पार्टीले बन्दी बनाउनुपर्र्यो ? हिजो त जिम्मेदार कमरेडसँग एकछिन भेट गर्नु छ, बढिमा एक डेढ घण्टा मात्र हो भन्थे, आज कब्जाको कुरा गरिदैंछ....... !
मेरो कुराले तारा रिसाएझैं देखिए। उनि चर्किए, "हाम्रो पार्टीले तपाईलाई दुई महिनाअघि नै वारेन्ट काटेको थियो। तर तपाई कहिले कता कहिले कता गईरहेकोले बच्नुभएको थियो।"
"किन"? म जोशिए !
"तपाईहरू यो प्रतिक्रियावादी सरकारको पिट्ठु हुनुहुन्छ र आम मुक्तिकामी जनताको बिरुद्धमा त्यहि शासन सत्ता टिकाउन काम गर्नुहुन्छ।"
"यो त आ-आफ्नो विचार हो बाबु। कुनै पनि मानिसलाई कसैको पनि समर्थन वा विरोध गर्ने अधिकार छ। तपाईहरू जुन सोचविचार लिएर काम गर्नुहुन्छ, त्यो सबैले मान्नैपर्छ भन्ने बाध्यता पनि त छैन नि !"
उनि झन् आवेशमा आए। मेरा कुरा काटेर उनले भने "तपाईहरू रूढिग्रस्त निम्न पूँजीजीवी संकीर्ण विचारले भरिएको मानिस हुनुहुन्छ। त्यसैले तपाईहरूको सोच र व्यवहार सामन्तवादी र आफ्नै वर्गीय हितको स्वार्थले भरिएको हुन्छ।"
उनीहरूको अगाडि प्रतिबाद गर्नु वा उनीहरूको विचार प्रति असहमती जनाउनु आफैलाई दु:ख दिनु सरह हो भन्ने ठाने।
केहिबेरको वादविवाद र उसको एकोहोरो धम्की पछि उनले मलाई कैदीका रुपमा खानेबस्ने प्रबन्ध र आगामी कार्यक्रमहरू बारे बताईयो। धम्की पछि उनले आदेश दिदै भने अर्को आदेश नआएसम्म तपाई यहीं बस्ने हो। मैले ती आदेशहरू पालना गर्नु बाहेक अर्को विकल्प थिएन। उनले भने "अब तपाईले यहाँ साथीहरूले जस्तो खाना दिन्छन, त्यस्तै खाने हो। घरको जस्तो मिठो हुँदैन। दिसा पिसाप गर्न जान परे हाम्रा साथिहरूलाई भन्नुहोला। हाम्रा साथीहरूले तपाईलाई सुरक्षा दिनेछन, भाग्ने कोशिस नगर्नुहोला। कैदी भागे वा दौडेमा ग्रिनेड वा बम प्रहार गर्ने अधिकार छ।"
मैले मेरो विद्यालयको काममा उपस्थित हुन जानुपर्ने लगायत आफ्नो समस्याहरू बताए, तर उनीहरूलाई मेरो समस्याको बारे कुनै मतलव हुने कुरै भएन। म उनीहरूको लागि यौटा निरिह कैदी भैसकेको थिए।
सम्पर्क कमरेडसँग भेट नभएसम्म र उनीहरूले बयान नलिएसम्म मेरो बारेमा के निर्णय हुन्छ भन्न सकिन्न थियो।
त्यसपछि दिन बित्दै गयो । केहि दिन पछि पहिलो बयान भयो।
हामी शिक्षकहरूलई माओवादीको ज्यादती लगायत विषयमा सरकारका पक्षमा अन्तरक्रिया र र्याली प्रदशनी गर्नु भन्ने आदेश थियो। त्यस्ता कार्यक्रममा सरिक भएको आरोप रहेछ। अर्को चाहिं रेडक्रसमा लागेको आरोप। बयानका क्रममा जिल्ला सदरमुकाम बारम्बार किन धाईरहेको? सिडिओलाई किन भेटेको ? प्रहरी र सेनाकोमा किन गएको लगायत आरोप मुख्य थियो।
सरकारी विद्यालयको प्रध्यानाध्यापक भएकोले तथा जिल्लाकै शिक्षक समुदायको अग्रज भएकोले मलाई जिल्ला शिक्षा शिक्षा कार्यालयमा बेलाबखत गैरहनु पर्ने काम भैहाल्छ। म शिक्षक संघमा आवद्ध भएकोले शिक्षकको संघ-संस्थाहरूले आयोजना गरेका कार्यक्रममा तथा शिक्षकका समस्याहरू लिएर शिक्षा कार्यालय, सिडिओ, प्रहरी कार्यालयमा पनि जानु पर्थ्यो। उता जिल्ला सुरक्षा समितिले पनि माओवादीको गतिबिधि बिरुद्ध कार्यक्रमहरू गर्न दवाव दिने र उनीहरूले आयोजना गर्ने कार्यक्रममा सरिक हुँदा माओवादीले आफु बिरुद्ध लागेको ठान्ने।
त्यतिबेला सरकारी सेवामा लागेका शिक्षक लगायत कर्मचारीहरूको आम समस्या नै यहि थियो। सेना प्रहरीकोमा जानु पर्ने काम हुँदा गएपनि त्यसलाई माओवादीले आफु बिरोद्ध सुराकी गरेको ठानेर टार्गेटमा राख्दा रहेछन। सुराकी गरेको प्रमाण नचाहिने, केवल सेना प्रहरी र सिडियो कार्यालयमा उपस्थित भएकै कारण हामीलाई दु:ख दिन खोज्ने।
बयानका क्रममा यस्तै यस्तै घटनालाई आधार मानी माओवादी बिरुद्ध शुराकी गरेको, उनीहरु बिरुद्ध गतिबिधि गरेको लगायत आरोप लगाईयो। तर मैले निडर भएर वास्तविकताहरू बताईरहन्थे।
उनीहरूले निक्कै दिन राख्ने संकेत दिएपछि लुगा कपडा लगायत आवश्यक कुराहरू घरबाट मगाउन भनियो । मैले चिठ्ठी लेखेर उनीहरूलाई दिन्थे। चिठ्ठीपत्र सेन्सर हुने हुनाले अत्यन्त सिमित कुरा मात्र लेख्नु पर्थ्यो। कमसेकम परिवारले म जिवितै छु भन्ने सम्म थाहा पाउन पायो। चौध दिनपछि बल्ल घरबाट आएका लुगा फेर्न पाए। मैले लुगा कपडा फेर्न पाए। सो अबधिभरीमा घरमा बडो मुश्किलले ३-४ पटक चिट्ठी आदानप्रदान भयो।
त्यसपछि १०० दिनको मेरो हिरासतको क्रममा कमसेकम ४-५ पटक बयान भयो। प्राय: बयान लिने क्रममा आँखामा पट्टि बाधिन्थ्यो । कसले बयान लिन्थे म चिन्दैनथिए।
हप्ता/दस दिन हाराहारीमा बस्ने ठाउँ सरिरहन्थे। एक ठाउँबाट अर्को ठाउँ लैजादा आँखामा पट्टि बाधेर हिडाईन्थ्यो। प्राय राति खाना खाएपछि ८-९ बजे तिर हिडाउथे, र मध्यरात तिर नयाँ ठाउँमा पुर्याउथे। बस्ने ठाउँ चाहिं उहीं जनताको घर। दिउसोको समयमा समेत मलाई बाहिर निस्कने अधिकार थिएन। दिसा पिसाप गर्न जादा उनीहरूलाई बोलाएर आँखामा कसिलोसँग पट्टि बाधेपछि जान पाईन्थ्यो। कहिलेकाहीं आफुलाई च्यापिसक्दा पनि समयमा आउदैनथिए।
पटक पटक बयान र अनेकौं धम्कीमा भाषाले मलाई गलाउने प्रयास त छदै छ। मलाई मानसिक रुपले नै परिवर्तन गराउने प्रयास उनीहरूको थियो। साथै कुनै मुद्धा लगाएर कारबाही गर्ने प्रयास पनि।
कहिले छुटन पाउछु भन्ने कुनै संकेतसम्म दिईएन। निक्कै लामो अवधिसम्म यस्तै बन्दि बनाईराख्ने हुन वा ज्यान नै लिने पो हुन कि भन्ने चिन्ताले पिरोलीरहन्थ्यो ।
म उनीहरूको कब्जामा भएको तिन महिना पुग्न लागेपछि मलाई रिहा गर्ने निर्णय भएछ। तर मलाई उनीहरू बिरुद्ध कुनै गतिबिधि नगर्न र आफ्नो गल्ति स्विकार्न, भनियो। यसका लागि मैले पत्रमा लेखेरै कबुल गर्नु पर्ने भयो। मैले कुनै गल्ति गरेकै छैन भनेर प्रतिबाद गर्दा रिहा नहुने स्पष्ट संकेत त छदैं थियो, बरु झन् श्रम शिविरमा राखेर यातना दिने संकेत देखियो। उनीहरूको भाषामा भन्नुपर्दा सुधार्ने काम हुने रहेछ। मैले आफ्नो आत्मसम्मानमा थाती राखेर उनीहरूले चाहे जस्तो बयान ठ्याकै नगरेर मैले जानी वा नजाई वा समय र जनताको भावना नबुझेर गल्ति गरेको भए क्षमा र भविष्यमा माओवादी बिरुद्ध गतिबिधी गर्दिन भन्ने खालको व्यहोराको पत्र थमाईदिए। त्यसपछि छुटाउने तरखर भयो।
त्यसपछि कष्टमय 'बन्दी' जिबन मुक्त भयो। दिन रात कुनै अपरिचित गाउँको "जनताको घर भित्र" बस्नु पर्ने। जे खान दिन्छन त्यहि खाने। हरदम ३ देखि ५ जनासम्मको हतियारधारी माओवादी मिलिसियाको कनट्रोलमा बस्नुपर्ने, त्यो संख्या कहिले त १२-१४ जना सम्मको हुन्थ्यो।
छुटने समाचार आईसकेपछि पनि तत्काल छुटन नपाईने। त्यसको उनीहरूको पार्टीको नियम अनुसारको प्रक्रिया हुने रहेछ। सुरक्षालाई ध्यान दिनुपर्ने। छुटछु भन्ने भैसकेपछि पनि फेरी हप्ता दस दिन रोकिनुपर्र्यो।
तर बल्ल बल्ल बल्ल मैले नै पढाउने विद्यालयमा लगेर मलाई शिक्षक, बिद्यार्थी र अविभावक तथा जनताको रोहबरमा जिम्मा लगाईयो। पूरा १०० दिनको डर त्रास र कहालीलाग्दो अध्याय पुरा गरेर म स्वतन्त्र भएको थिए।
मलाई मुक्त गराउने कार्यमा ICRS (रेडक्रसको अन्तराष्ट्रिय समिती)को महत्वपुर्ण भूमिका रहेको जानकारी मैले रिहा भएपछी थाहा पाए। यदि त्यो संस्थाले पहल नगरेको भए मलाई पनि....
(वि.स. २०५९ सालमा माओवादीद्वारा कब्जामा लिएर यातना दिईएका रोल्पा गजुलका शिक्षक नारायण सुवेदी सरसँगको कुराकानीमा आधारित सम्पादित लेख। उहाँको "१०० दिन माओवादी कब्जामा" नामक संस्मरणात्मक पुस्तक पनि प्रकाशित छ।)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।